कहिले पाउँछन् सेवाग्राहीले सवारी लाइसेन्स ?
२०२५ नोभेम्बर १८: ११:२०

driving license
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो ।
आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ आवेदकका लागि सेवा खुला गरेको हो ।लाइसेन्स छपाइका लागि भने विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ ।
सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिए । पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका ५ सय थान लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याङ्क पठाएको थियो । तर छपाइ सुरु भएको चौध दिनसम्म पनि छापिइसकेका ती लाइसेन्स विभाग र आवेदकको हात लागेको छैन । जसकारण वैदेशिक रोजगारी, विदेश अध्ययन र अत्यावश्यक सेवाका लागि आवेदन दिएका सेवाग्राही मारमा परेका छन ।
‘हामीले केन्द्रले छाप्ने लाइसेन्सको नमूना हेरेपछि तथ्याङ्क दिएअनुरुप पाँचसय प्रति लाइसेन्स छापिइसकेका छन् । सम्भवत् छापिएका लाइसेन्स आज केन्द्रले पठाउनेछ भन्ने बुझेका छौं । तर, विभागमा आइनपुगेसम्म ढुक्कसँग भन्न सकिँदैन । विभाग भने हिजोसम्म सङ्कलन भएका ११ सय र आज थपिने अन्य आवेदकको तथ्याङ्क केन्द्रमा छपाइका लागि पठाउने तयारीमा छ,’ सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने । उनका अनुसार सम्झौताका क्रममा केन्द्रले अत्याधुनिक उपकरणबाट काम हुने भएकाले ढिलाइ नहुने बताएपनि प्राविधिक जटिलताका कारण समस्या भएको हो । यता केन्द्र भने छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण भइरहेको र नेपालमै पर्याप्त नभए विदेश पठाउने तयारी गरेको जनाएको छ । ‘पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने मापदण्डका विभिन्न आधार हुने रहेछन् सोहीअनुरुप यतिबेला पानीमा, तेलमा राखेर तुरुन्त भिज्छ भिज्दैन, हामीले छापेको लाइसेन्सको आयु कति दिर्घकालिन हुन्छ भन्ने परीक्षण भइरहेको छ । यो परीक्षण नेपालभित्रका ल्याबमा गरेका छौं । यो अब हप्तादिनमा पुरा हुन्छ त्यसपछि बल्ल विभागमा पठाउनेछौं ।’ केन्द्रका निर्देशक देवराज ढुङ्गानाले बताए ।
छापिएका लाइसेन्सको गुणस्तरमा ढुक्क हुन परीक्षणकै चरणमा रहेको केन्द्रले विभागबाट दोस्रो चरणको छपाइका लागि मंगलबार थप तथ्याङ्क पाउने केन्द्रले जानकारी दिएको छ । ‘अहिले गरेको परीक्षण दोस्रो चरणको परीक्षण हो, त्यसैले दोस्रो चरणको छपाइका लागि विभागले सोमबारसम्म संकलित तथ्याङ्क छपाइका लागि पठाउनेछ ।’ ढुङ्गानाले भने । विभागले २५ लाख लाइसेन्स छाप्न बाँकी छ । जसमध्ये विभागले २७ करोड ६० लाख रुपैयाँ बजेटमा १२ लाख थान मात्र छाप्न सकिने भएकाले थप बजेट आवश्यक रहेको खतिवडाले जनाएका छन् ।
पाठक टिप्पणी
पहिलो टिप्पणी लेख्नुस्।
ताजा टिप्पणीहरू
टिप्पणीहरू लोड हुँदैछन्...