रास्वपा–उज्यालो नेपाल पार्टीबीचको एकता प्रयास असफल
२०२६ जनवरी १०: १६:४६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ। शनिबारसम्म निरन्तर चलेका दुई पक्षीय वार्ता प्रयास असफल भएपछि एकता प्रक्रिया औपचारिक रूपमा टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिएका छन्।
रास्वपा स्रोतका अनुसार उज्यालो नेपाल पक्षले रास्वपाभित्र वरिष्ठ उपसभापति पद, महामन्त्री पद तथा पार्टीको नाम परिवर्तनसमेतको प्रस्ताव अघि सारेपछि एकता संकटमा परेको हो। “पूर्वसहमति भन्दा बाहिर गएर वरिष्ठ उपसभापति, महामन्त्री र पार्टी नाम परिवर्तनको माग आयो। त्यसमा सहमति नजुटेपछि एकता भंग भयो,” ती नेताले बताए।
वार्तामा सहभागी नेताहरूका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समेत संलग्न पछिल्ला छलफलहरूमा पनि सहमति बन्न सकेन। ऊर्जा मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ यस अवधिमा पटक–पटक रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूसँग संवादमा थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले उज्यालो नेपालसँगको सहकार्यको सम्भावना अब समाप्त भएको निष्कर्ष निकालेको छ। उज्यालो पार्टीतर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने ठहरमा रास्वपा नेतृत्व पुगेको हो।
रास्वपा नेताहरूका अनुसार उज्यालो नेपालले रास्वपाले अंगीकार गरेको लोकतान्त्रिक राजनीतिक सिद्धान्तमा पुनर्विचार गर्दै नयाँ राजनीतिक दर्शन निर्माण गर्नुपर्ने माग राखेको थियो। यसबारे रास्वपा प्रवक्ता मनिष झाले भने, “अवस्था परिवर्तन गर्ने हाम्रो अभियान हो, तर व्यवस्था र संविधानप्रति हाम्रो कुनै विमति छैन। यही स्पष्ट धारणा राखेपछि कुरा मिलेन।”
वार्ताका क्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाका विषयमा उज्यालो नेपाल पार्टीले फरक धारणा राख्नुपर्ने प्रस्ताव आएको र त्यसमा रास्वपा सहमत हुन नसकेको नेताहरूले बताएका छन्।
पद, संरचना र राजनीतिक सिद्धान्तमै गहिरो मतभेद देखिएपछि रास्वपा–उज्यालो नेपालबीचको एकता प्रयास अन्ततः असफल भएको निष्कर्ष निकालिएको छ।
पाठक टिप्पणी
पहिलो टिप्पणी लेख्नुस्।
ताजा टिप्पणीहरू
टिप्पणीहरू लोड हुँदैछन्...